तछलाथ्व तृतीयाका दिन अर्थात नेवा: समुदायको सिथी नख: को ४ दिन अगाडि महादेवका प्रथम पुत्रका रूपमा मानिने कुमार देवताको बिधिवत न्हवं कार्य काठमाडाैं न्हूघः अवस्थित कुमार मण्डपमा सम्पन्न भरिएको छ ।
अन्य देवीदेवताहरुमा प्रमुख रूपमा रहने १० कर्मकाण्डमध्ये कुमार देवता अविवाहित रहेकाले ९ कर्मकाण्डमध्ये उनको जन्मोत्सवका रूपमा पनि न्हवंलाई पहिलो कर्मकाण्डका रूपमा लिइन्छ ।
यसपछिको चौथो दिनमा भने नेवा: समुदायको लोकप्रिय व: अर्थात बारा सहित मौसमी खाजा परिकारसँगै सिथि नख: पनि मनाउने प्रचलन रहदै आएको छ भने सो दिन पोखरी, इनार र धुङ्गेधारा लगायतका पानीको श्रोतलाई आगामी वर्षकोलागी सरसफाई गर्ने परम्परा रहिआएको छ ।
उपत्यकामा परम्परागत जलश्रोत ब्यवस्थापन सम्बन्धि अध्ययेताहरुले सिथि नख:को बैज्ञानिक आधारहरु र मुहान सरसफाईको महत्वलाई उजागर गर्दै यसलाई पानी दिवसका रूपमा स्थापित गर्नुपर्ने बताउदै आएकाले यसदिनको परम्परागत सरसफाईको जागरण बढ्दो रहेको छ ।
यससँगै नेवा: सभ्यतासंग जोडिएको विभिन्न चाडपर्वमध्येको अन्तिम चाडका रूपमा लिइने सिथि नख:को विशेष सामाजिक सांस्कृतिक महत्व रहिआएको पाईन्छ । जसमा कुलदेवता पूजा अर्थात “देवाली” पर्वसंग जोडिने नव दुलही गृह प्रवेश, जन्म र मृत्यु संस्कार सम्बन्धित “पिखा: लखु” संस्कृति लगायत पारिवारिक संगठन बिकासको समेत महत्वसंग जोडिएका यीनै कुमार देवतासँग गासिन्छ जसबारे पर्याप्त चर्चाको कमी भने अझै रहेको पाईन्छ । सिथि नख: र यसबेलाको आहारबिहारले शक्ति संचय गरेपछी रोपाईंको समय प्रथमिकतामा पर्दछ भने नेवा: संस्कृतिमा गठांमुग: पर्वसंगै अन्य चाडपर्वहरु पुन: जोडिन थाल्दछन ।
संक्षिप्त्त ईतिहास:
देशैभरीमा विशिष्ट र मौलिक शैलीमा स्थापित रहेको कुमार देवताको न्हवं लगायत जात्रा उद्भवबारे लिखित प्रमाणहरु पाइएको देखिदैंन । कुमार देवताको ऐतिहासिक मूर्ती कति पुरानो भनी आधिकारिक अध्ययन नभए पनि काष्ठकलाले सुसज्जित भएका कारण कम्तीमा पनि मल्लकालिन रहेको अनुमान गर्न सकिने स्थानियको मान्यता छ ।
स्थापित किवंदन्ती अनुसार बलम्भुस्थित महादेव पार्वतीका हराएका नाबालक छोरा काठमाडौंको न्हूघ: गनेशस्थान नजिक भेट्टिए । भोकाएका उनलाई यहाँका स्थानियले सोद्धा नूनरहित बारा खाने भने अनुसार परिकार बनाई लग्दा सिद्ध भएका कुमार दर्शन भए । यसैकारण उनलाई चढाउने परिकारमा नूनरहित बारा दिने प्रचलन पनि हराउन थालेको स्थानिय गुठियार बिजयलाल बताउँछन ।
उनका अनुसार उक्त स्थानमा सिद्ध अवस्थामा रहेका कुमारलाई काठमाडौंको थने र क्वनेस्थित पौराणिक रूटमा खटजात्रा गर्ने प्रचलन रहेको थियो । हराएका उक्त बालक देवतालाई सो जात्रा अवधिमै बलम्भुबाट भेट्न आउने प्रचलन रहेको थियो । “मेरा पुर्वजहरुले पनि बलम्भुमा कुमार देवताको रहने स्थान भएको र आसन खाली रहेको बताएको सम्झन्छु । यो यथार्थ कुरा लोप हुन नदिन त्यहाँका स्थानियहरुले खल: पुच: बनाई यद्यपि यहाँ आउने परम्परालाई निरन्तरता दिदैं आएका छन ।” श्रेष्ठ बताउँछन । तर उक्त खट्जात्रा भने रोकिएको दशकौं भैसकेको छ ।
परम्परागत अभ्यासको पुस्तान्तरण हराउँदै
केही समय अगाडि ६ परिवारले प्रमुख भुमिका निर्वाह गर्दै आएकोमा हाल बाँकी २ परिवारका यीनै गुठियार बिजयलाल श्रेष्ठका अनुसार अरु देवीदेवताको महानता र विशेषता भए झैं यस कुमार देवताको पनि ठूलो महिमा रही आएकोमा स्थानीयवासीहरुमा आजसम्म पनि जनविश्वास बाँकी नै छ ।
बिशेषत: कसैको मुद्दा मामिला धेरै लामो विवादमा अल्झिरहेमा, कोहि कसैको परदेशबाट कुनै सम्पर्क नभएमा, नफर्किएमा, कोही कसैलाई रोगब्याधिले सताउँदै गरेमा, कसैको बच्चा उमेर पुगेर पनि चञ्चल नभई सुस्त मनस्थिति भएमा र कसैको आयु छोटो भएमा न्हूघ:स्थित यस देवताको कोठामा रहेको विशेष पालामा एक बित्ताको बत्ति बाल्न लगाएमा त्यस्ता समस्याको समाधान हुने गरेको आफुले सुन्दै आएको उनी बताउँछन । “म सानो छँदासम्म बज्यैले विशेष बिधिसहित उक्त पालामा बत्ती बाल्ने गरेको सम्झन्छु तर सो बिधिको पुस्तान्तरण हुन सकेन, त्यस्तै खट यात्रा जस्ता अन्य कुराहरु पनि बिगत ३५-४० बर्षदेखि हुन सकेको छैन ।” उनले भने ।
नेवा: समुदायमा विभिन्न जातजातिको सहअस्तित्व र सहकार्यसहित चाडपर्व हुने गरेको पाईन्छ । न्हूघ:का यी कुमार देवताको परम्परा संचालनमा पनि गुठियार श्रेष्ठका अनुसार ललितपुरको सिद्धिपुरबाट चोभारका पुजारीहरु न्हवं:कालागि आईपुग्ने चलन छ । त्यसपश्चात् ४ दिनपछी देवता “क्वहाँ बिज्याकेगु” मूलचोकमा ल्याई होमादिको पुजाविधी राजोपाध्याय खलकका बाजेहरुले गर्ने प्रचलन रहेको छ । त्यसपश्चात खटयात्रा गराउने प्रचलन रहेको बताईन्छ ।
“पहिला खट बोक्न आवश्यक १६ जना भन्दा बढी भक्तालु ज्यापू समुदायकै हुन्थे । परम्परा जेन्तेन धान्न लागिपरेको अवस्था, भविष्यमा आफ्नै पुर्खाले पनि निरन्तरता देलान भन्न नसकिने अवस्थाको बेला उक्त जनशक्ती ब्यवस्थापन गर्न पनि असक्षम भएका छौं ।” ऐतिहासिक महत्वको कुमार खटजात्रा रोकिनुमा यो जात्रा ज्यापू महागुथी लगायतका संस्थासंग जोड्न नसकिएकोले हो कि भन्ने गुठियार श्रेष्ठ थान्दछन । हालसम्मको कर्मकाण्डको ब्यवस्थापनमा यीनै परिवारको मात्र सकृयता देखिएको छ। राज्यको तर्फबाट अझै पनि श्रोत उपलब्ध रहेको देखिदैंन ।
न्हवं अर्थात महास्नान बेलुकीपख गर्नु पर्ने परम्परा रहेकोमा वर्तमान अवस्थाले सृजेकाे काेराेनाकाे कारण गत वर्ष पनि दिउँसाे नै महास्नान गरिएको हाे भने साेही काेराेनाकाे संक्रमण याे वर्षपनि रहेकाेले आज दिउँसाेकाे साढे बाह्रबजे याे कार्य सम्पन्न गरिएकाे छ ।